न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई २५ करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।

अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अदानीका भतिजाहरू पनि रहेका छन् । संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलरभन्दा धेरै घूस दिने वचन दिएका थिए ।

अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुट बोलेको पाइएको छ । अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ ।

सन् २०२० देखि २०२४ सम्म, अडानीसहित सबै अभियुक्तहरू भारत सरकारको सौर्य ऊर्जा सम्झौता प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलरको घूस दिन इच्छुक थिए । परियोजनाबाट २० वर्षमा सबै कर कटाए पनि २ अर्ब डलरभन्दा धेरै नाफा अनुमान गरिएको खबरमा उल्लेख छ ।

अडानीले व्यक्तिगत रूपमा भारत सरकारका एक अधिकारीलाई भेटेर योजनालाई अगाडि बढाएका थिए । अदालतका अनुसार अडानी समूहले घूसको यो अभियोजन रोक्नको लागि ग्रान्ड जूरी, एफबीआई र अमेरिकी सेकुरिटी एण्ड एक्सचेन्ज कमिशन (एसईसी) को अनुसन्धान रोक्न षड्यन्त्र रचेका थिए ।

अडानी ग्रीन एनर्जीले सम्झौताअन्तर्गत अमेरिकी लगानीकर्ता र अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट कुल ३ अर्ब डलर सङ्कलन गरेको थियो । त्यसैले भारतमा घुस दिन खोजे पनि उनीहरुमाथि अमेरिकी कानुनसमेत आकर्षित भएको हो ।

गौतम अडानीका भतिजा सागर अडानीले अमेरिकाको ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version