काठमाडौं । पार्टी भित्र फरक मत राख्ने नेतालाई नेकपा एमालेले छानी छानी कारवाही गर्न शुरु गरेको छ । नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्कासन गर्नुका साथै स्थायी समिति सदस्य डा. विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाको लागि पार्टीको जिम्मेवारीबाट हटाएर  फरक मत राख्नेहरु माथि कारवाहीको डण्डा बजार्न थालेको हो । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीविपरीत रहेको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

२०७८ मंसिरमा भएको १० औँ महाधिवशेनमा केपि शर्मा ओली संग अध्यक्ष पदमा भिडेपछि रावल नेत्तृत्वको निशानामा पर्दै आएका थिए ।चुनावमा रावल ओलीसामु पराजित हुन पुगे। अध्यक्षमा हारे पनि उनी केन्द्रीय सदस्यमा भने निर्वाचित भए। रावलले त्यो जिम्मेवारी स्वीकार गरेनन्। त्यसपछि एमालेले केन्द्रीय सहल्लाहकार परिषद् सदस्यमा बस्न भन्यो। त्यो जिम्मेवारी पनि उनले लिएनन्।

एकातिर उनले पार्टीले दिएको जिम्मेवारी स्वीकार गरेनन् भने अर्कोतिर ओलीको आलोचना गर्न पनि छाडेनन्। त्यसको परिणाम उनले २०७९ को संसदीय चुनावमा भोग्नुपर्‍यो। एमालेले रावललाई अछामबाट टिकट दिएन। 

त्यतिबेला नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतले चुनाव लड्न अफर गरे। रावलले त्यो पनि स्वीकार गरेनन्। 

चुनाव सकिएपछि पनि रावल एमालेमै रहे। जिम्मेवारीविहीन भएर बसेका रावललाई एकीकृत समाजवादीले आफ्नो पार्टीमा आउन पटक–पटक आग्रह गर्‍यो। तर, उनी समाजवादीमा पनि गएनन्। 

एमालेले कारबाही गर्नुअघिसम्म पनि रावलले आफू एमाले छोड्ने विचारमा नरहेको प्रतिक्रिया दिइरहेका थिए। तर, आजको कारबाहीपछि उनलाई एमालेमा रहने बाटो सम्पूर्णरूपमा बन्द भएको छ। पार्टीको जिम्मेवारी नपाए पनि साधारण सदस्य मात्रै रहेर बस्ने विकल्प समेत समाप्त भयो। किनभने, उनलाई पार्टीले सदाका लागि साधारण सदस्यबाटै मुक्त गरिसकेको छ।

रावलले यो कारबाहीलाई निरंकुशताको संज्ञा दिएका छन्। तर, आफ्नो भावी कदमबारे भने प्रस्ट जवाफ दिइसकेका छैनन्। 

पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version