काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जलस्रोत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुपुकार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इन्जिनियर श्रेष्ठको चार करोड रुपैयाँभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

सरकारी सेवामा प्रवेश गरेको २०४६ साल असार ३० गतेदेखि २०७७ साल असार ३१ गतेसम्मको अवधिमा श्रेष्ठले तलब भत्ता, जग्गा बिक्री, शेयर बिक्री लगायतबाट ११ करोड २५ लाख ६५ हजार एक सय ९९ रुपैयाँ १७ पैसा वैधानिक रूपमा आय गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर यस अवधिमा चार करोड ८८ लाख ३० हजार तीन सय २९ रुपैयाँ ५४ पैसा बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती, बुबा, आमा र छोराको नाममा राखेको पाइएको छ ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर त्यस बराबरको सम्पति तथा नगद जफत गर्न पनि अख्तियारले मागदाबी गरेको छ । यस्तै इन्जिनियर श्रेष्ठले स्रोत खुल्न नसकेको सम्पत्तिको जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनकी श्रीमती लक्ष्मीकुमारी, बुबा हरिकुमार, आमा इन्द्रकुमारी र छोरा विवेकलाई प्रतिवादी बनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version