काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंमा बसोबास गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–४ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ का २९ वर्षीय हरिशचन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको बैंक खाता तथा बाइनान्स आईडीमा २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँको कारोबार गरेको देखिएको हो । उनीहरूबाट प्रहरीले चार थान मोबाइल, एक थान कम्प्युटर सीपीयू, विभिन्न व्यक्तिका नाममा रहेका बैंकका २७ थान एटीएम कार्ड, ७ वटा चेकबुक, ९० हजार रुपैयाँ नगद, डायरीसहित ५० थान एनसीएल र ७ थान नेपाल टेलिकमका सिमकार्ड बरामद गरेको छ।

बेटिङ एप्लिकेसनमार्फत विश्वभर संचालन हुने विभिन्न अनलाइन खेलमार्फत सट्टेबाजी सञ्चालन गर्दै क्रिप्टो करेन्सी ट्रेडिङमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए।

उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Share.

Comments are closed.

Exit mobile version