काठमाडौं २५ माघ ।  पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१७ छोटेपाटन बस्ने ३१ वर्षीया इन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका-१ बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई रहेका छन्।

उनीहरूलाई पोखरा महानगरपालिका-६ कसाइडबाट बिहीबार अपराह्न पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए।

उनीहरूविरूद्ध पोखराकै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएपछि प्रहरीले खोजी थालेको थियो। उनीहरूलाई खोज्न गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोली खटिएको थियो।

प्रहरी निरीक्षक जिसीका अनुसार पक्राउ परेकाहरूले सुब्बालाई पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भनेर १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’

लेकसाइडमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये इन्दिरा र राजनको कोठाबाट प्रहरीले सेतो रंगको पारदर्शी ढुंगा ६ थान, रातो रंगको ढुंगा १ थान, विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ३ थान बरामद गरेको छ।

तिनै जनालाई शुक्रबार जिल्ला अदालत कास्कीबाट ठग सम्बन्धी मुद्दामा सात दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version