हेटौंडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रीका स्वकीय सचिव रवि थापाले विष सेवन गरेका छन् । उनको उपचारको क्रमामा मृत्यु भएको छ ।

समस्याग्रस्त सहकारीको केश मिलाइदिन्छु भन्दै पैसाको बार्गेनिङसम्बन्धी बाहिरिएको एक अडिओमा उनको नाम जोडिएको बताइएको छ । काठमाडौंस्थित साथीको कोठामा गएका उनलाई विष सेवन गरेको अवस्थामा भेटेपछि उपचारको लागि कलंकीको एक अस्पतालमा लगिएको थियो । तर, अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ । काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराले उनी साथीको कोठामा विष सेवनपछि अचेत अवस्थामा भेटिएको बताए । कलंकीको सहिद मेमोरियल अस्पतालमा थापाको निधन भएको हो ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारीमा दर्ज भएको सुमेरु सहकारीको विषयमा स्वकीय सचिव थापाको नाम मुछिएको अडिओ मिडियामा सार्वजनिक भएपछि उनले एक सुसाइड नोट लेखेर विष पिएको प्रहरीको भनाइ छ ।

उनले पत्रमा पैसा लेनदेनको विषयमा आफ्नो नाम जोडिएको र त्यसबाट आफ्नो बेइज्जत भएको उल्लेख गरेका छ्न् ।

गत पुस २८ गते बागमती प्रदेशको सहकारी मन्त्रालयले समस्याग्रस्त सहकारीको रूपमा दर्ज गरेको सुमेरुको केश मिलाइदिने भन्दै धादिङकै एक व्यक्तिले सुमेरुका पूर्वसचिव समेत रहेका विनोद आचार्यसँग पैसाको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो ।

करिब १३ मिनेट लामो अडिओमा दुईजनाबीच सहकारीको समस्या मिलाईदिने र त्यसको चाजोपाजो मिलाउनको लागि करोडौं रकम आवश्यक पर्ने भएकोले पैसाको बार्गेनिङ गरिएको थियो ।

घटनापछी प्रहरीले अडिओ, पत्र र विष सेवनबारे आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ । धादिङ प्रहरीले भने उक्त अडिओमा आवाज रहेको भनिएका एक व्यक्तिलाई सामान्य सोधपुछपछि छाडेको जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version