काठमाण्डौं,२० फागुन २०८१ ।अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका ११ जना नेपालीहरु लिएर अमेरिकी जहाज बुधबार काठमाडौं आउने भएको छ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउने निश्चित भएको गृहमन्त्रालय श्रोतले जनाएको छ।

अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन अवतरण हुने तालिका रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण श्रोतको भनाइ छ। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए। अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो। पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ।

एक रिपोर्टअनुसार अमेरिकी अदालतले १ हजार ३ सय ६५ जना नेपालीहरूलाई देश छोड्न आदेश दिएको छ।

राष्ट्रपति ट्रम्पले जनवरी २० मा सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम पक्राउ गरी निष्कासन गरिरहेको छ।

Share.

Comments are closed.

Exit mobile version