दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरू गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्देश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताए ।
पहिलो चरणमा गाउँपालिकाले वडा १ को गिरानचौर र वडा ६ को हिलेखर्कलाई पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरू गरेको उनले बताए । पर्यटकीय गाउँ बनाउन प्रत्येक गाउँलाई ४० लाख बजेट विनियोजन गरिएको चुमानको भनाइ छ ।
उनले भने, ‘प्रत्येक वडाका एक गाउँ छनोट गरी पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरू भएको छ, त्यस ठाउँमा पर्यटकमैत्री पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्छौँ ।’
सुरूमा आँबुखैरेनी पर्यटकीय पालिका हो र भन्नेमा धेरैले शंका गर्ने स्थिति रहेको स्मरण गर्दै चुमानले भने, ‘केही धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रूपमा दावी गर्थ्याै, तर अहिले गाउँपालिका धेरै पर्यटकीय स्थल भएको ठाउँ हो भन्ने आधार खडा गर्न सफल भएका छौँ ।’
धार्मिक रूपमा छिम्केश्वरी, अकला, आँधीमूल, पञ्चकन्या मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न खोजिएको चुमानको भनाइ थियो । त्यस्तै पूर्वाधारको हिसाबले पछाडि परेको आँबुखैरेनी–२ ऐनापहरालाई आरामस्थलका रूपमा विकास गरिएको उनले बताए ।
ऐनापहरामा पूर्वाधार निर्माण गरी रोजगारी सिर्जनाका साथै गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गरिएको उनले बताए । ऐनापहराका ढुंगामा कृत्रिम आकृति निर्माण गरी यहाँ विभिन्न पूर्वाधार निर्माण गरिएको छ । ऐनापहरा पार्कमा टिकट शुल्क राखेर पालिकाले चालु आर्थिक वर्षमा ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ ।
त्यस्तै मस्र्याङ्दीको कृत्रिम तालमा मोटरबोट सञ्चालन, आँबुखैरेनी–१ को आँधीमूलमा कृत्रिम ताल निर्माणको प्रक्रिया थालिएको चुमानको भनाइ छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको उनले उल्लेख गरेका छन् ।
आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाइ छ । उनले भने, ‘आँधीमूल आफैमा प्रसिद्ध धार्मिकस्थल हो, यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउछन्, धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौं ।’
यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरू गर्ने लक्ष्य रहेको चुमानको भनाइ छ ।
खबर साइट डट कम :
- गाउँपालिकाका पूर्वअध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचार मुद्दा
- आयोजना प्रभावित स्थानीयलाई जलविद्युत्को सेयर १०० रुपैयाँ मै दिन इप्पानको आग्रह
- सरकार र लघुवित्त पीडितबिच ५ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता
- अष्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नुअघि ३२ लाखभन्दा बढी खर्च, भिसा अस्वीकृत भए ५–९ लाख रुपैयाँसम्म घाटा हुन सक्ने
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक
- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने
- इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन लाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण
