पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गरेका हुन् ।

नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ ।

नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताए ।बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिए । स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उनले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।

पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि ५९ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।

Share.

Comments are closed.

Exit mobile version