काठमाडौं । नेकपा एकीकृत समाजावादीले अध्यक्ष माधवकुमार नेपालको बारेमा अनावश्यक टिप्पणी नगर्न निर्देशन दिएको छ ।
आइतबार महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा अध्यक्ष नेपालका विषयमा पार्टी भित्रवाटै टिप्पणी हुन थालेपछि त्यसो नगर्न निर्देशन दिएका हुन् ।
महासचिव भुसालले भनेका छन्- `पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ । यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेवारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ । तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ । साथै पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरु छन् भन्ने कुराको हेक्का राख्न र कुनै पनि बहानामा सार्बजनिक बाद- प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।’
एकीकृत समाजवादीमा नेतृ राम कुमारी झाँक्रीले शनिबार रुपन्देहीको मणिग्राममा आयोजित पार्टीको युवा संघ नेपाल रूपन्देहीको जिल्ला भेलामा झाँक्रीले अध्यक्ष नेपालको बारेमा टिप्पणी गरेपछि त्यसले तरंग ल्याएको छ ।
झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् । उनले भनेकी थिइन्- ‘कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउनसक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’
झाँक्रीको यो अभिव्यक्तिपछि नेपाल पक्षधर नेताहरुले असहमति जनाउदै प्रतिक्रिया दिन शुरु गरेका थिए । यसैक्रममा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष, युवा नेता सुदेश पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई विक्षिप्त मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।