काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई समेट्ने दिगो र न्यायपूर्ण विश्व निर्माण गर्न आह्वान गरेका छन् ।
स्पेनको सेभियामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकको विकास सहयोग घट्दै गएको र जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार यिनै मुलुकले व्यहोर्नु परेको बताउदै सबैलाई समेट्ने दिगो र न्यायपूर्ण विश्व निर्माण गर्न आह्वान गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले न्यायसंगत तथा समावेशी वैश्विक आर्थिक प्रणाली निर्माणको माग गर्दै विकास साझेदारहरूले कुल राष्ट्रिय आम्दानीको शून्य दशमलब ७ प्रतिशत विकासशील राष्ट्रहरूलाई र शून्य दशमलब २ प्रतिशत अल्पविकसित राष्ट्रहरूलाई सहायता दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल विश्वव्यापी वित्तीय संरचनाको सुधारको पक्षमा रहेको उल्लेख गर्दै विकास साझेदारहरूलाई विकासशील देशहरूलाई ०.७ प्रतिशत आधिकारिक विकास सहायता प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशहरूका लागि ०.२ प्रतिशतभन्दा बढी प्रदान गर्न आग्रह गरेका छन् ।
साथै प्रधानमन्त्री ओलीले उचित सर्तहरूमा अनुदान र सहुलियतपूर्ण वित्त सहयोग दिनुपर्ने समतामूलक विश्वव्यापी व्यापार प्रणाली हुनुपर्ने, जसमा सबै देशहरूले लाभ प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । उनले सबैलाई साझा समृद्धि ल्याउने मूल्य शृङ्खलाहरू मार्फत विश्वव्यापी उत्तर र विश्वव्यापी दक्षिणलाई जोड्ने जीवन्त निजी क्षेत्रहरूको पक्षमा रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र संघको नेतृत्वमा कर सम्मेलनको पक्षमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ मा एलडीसीबाट स्तरोन्नति गर्न लागिरहेको सन्दर्भमा सहुलियतपूर्ण वित्तीय र प्राविधिक सहयोगको आवश्यकता दोहोर्याउँदै सबैलाई समेट्ने दिगो र न्यायपूर्ण विश्व निर्माण गर्न आह्वान गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।