काठमाडौँ । निर्वाचन आयोगले कार्तिक १७ गते रुपन्देही-३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको निर्वाचनका लागि दल दर्ता खुला गरेको छ ।

आयोगले निर्वाचन आयोगमा दर्ता रहेका दलले उपनिर्वाचनको प्रयोजनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार दल दर्ता गर्न आव्हान गरेको हो ।

उपनिर्वाचनका लागि आगामी असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।  आयोगले सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने जनाएको छ ।

त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

त्यस्तै असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

निर्वाचन कार्यक्रम अनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

त्यस्तै यस निर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको आयोगले जानकारी दिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version