काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्ममा अब अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । निर्माण टोलीले उनलाई कथाको महत्त्वपूर्ण पात्र जुठे दमाईको भूमिकामा अनुबन्ध गरेको हो ।

यसअघि यो भूमिकाका लागि अभिनेता जितु नेपाललाई तय गरिएको थियो, तर समय अभावका कारण उनले यो फिल्म गर्न नसक्ने भएपछि सौगातलाई भित्र्याइएको हो ।

फिल्मका निर्माता सुशील पोखरेलका अनुसार सौगातको सहभागितासँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । यसअघि फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

फिल्म ‘परालको आगो’ पति–पत्नी चामे र गौँथलीबीचको वैवाहिक द्वन्द्वको कथा हो । फिल्ममा सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन् । यो उनको पहिलो घरबाहिरको फिल्म हुने भएको छ । अर्कोतर्फ, प्रकाश सपुत चामेको भूमिकामा देखिनेछन् ।

लक्ष्मण सुनारको निर्देशनमा बन्ने यो फिल्मको छायांकन छिटै हुने निर्माण पक्षले जानकारी दिएको छ ।

सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलले छायांकन गर्नेछन् । गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत हुनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्म ‘परालको आगो’ मैनाली कथा पुरस्कार ट्रस्टको आधिकारिक अनुमति लिएर निर्माण हुन लागेको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version