काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ ।

कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा कार्यक्रम गरिएको हो।

समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एफएओ नेपालका प्रमुख केन शिमिजु, कृषि सचिवहरू गोविन्द शर्मा र दीपक खराल, नार्कका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञ, पत्रकार तथा सयौं स्थानीय कृषकहरूको उपस्थिति थियो ।

समारोहमा कोदो प्रवर्धनमा योगदान पुर्याउने संस्था र व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । कोदो व्यवसायमा महिलाहरूको सक्रिय सहभागितालाई सम्मान गर्दै ‘कोदाली भेन्चर’ लाई विशेष सम्मान प्रदान गरिएको थियो। यस्तै, राष्ट्रिय कृषक समूह महासङ्घ र अनाजलाई कोदो प्रवद्र्धन अभियान सञ्चालन गरेबापत कदरपत्र प्रदान गरिएको थियो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०-८१ मा नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिई ३ लाख ७३२ मेट्रिक टन उत्पादन भएको छ ।

तथापि प्रति हेक्टर उत्पादकत्व भने १.३३ मेट्रिक टनमा सीमित रहेको छ। विज्ञहरूका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ ।

तर आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरेको छ भने निर्यात जम्मा ७० मेट्रिक टन मात्र गरिएको छ ।

गत वर्षसम्म अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो। राष्ट्रिय दिवसको रूपमा स्थापना भएपछि कोदोलाई अझ संस्थागत र वैज्ञानिक रूपमा प्रवद्र्धन गर्न सकिनेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन् ।

जुम्लामा रहेर रातो कोदो प्रवर्धन तथा कर्णालीमा उपलब्ध कोदोका बिउहरू संरक्षण गर्ने किसान कविता जौसीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रममा कृषिमन्त्री अधिकारीले प्रमाणपत्र र नगद १५ हजार सहित सम्मान गरेका हुन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version