वासिगटन डिसी, ६ भदौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले भारतबाट शीर्ष १० मोस्ट वान्टेड फरार महिलालाई पक्राउ गरेको छ ।
सिन्डी रोड्रिग्ज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोप छ ।
एफबीआई निर्देशक काश पटेलले बिहीबार एक्समार्फत यो जानकारी दिएका हुन । उनले सिन्डीले आफ्नो ठेगानाको बारेमा झूट बोलेको र त्यसपछि भारत भागेको बताए। एफबीआईले भारतीय अधिकारी र इन्टरपोलको सहयोगमा सिन्डीलाई २० अगस्ट २०२५ मा भारतबाट हिरासतमा लिएको हो । उनलाई अमेरिका फिर्ता पठाइएको छ, जहाँ उनीविरुद्ध कानुनी कारबाही गरिने छ।
सिन्डी एफबीआईको शीर्ष १० मोस्ट वान्टेड फरारको सूचीमा परेकी थिइन्। एफबीआईले उनको बारेमा जानकारी दिनेलाई २.५० लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा गरेको थियो । काश पटेलका अनुसार पछिल्लो ७ महिनामा पक्राउ पर्ने चौथो मोस्ट वान्टेड फरार व्यक्ति हुन् ।
अनुसन्धानका क्रममा सिन्डीले नोएल आफ्नो जैविक पितासँग नोभेम्बर २०२२ देखि मेक्सिकोमा रहेको दाबी गरिन्त र दुई दिनपछि उनी श्रीमान् अर्शदीप र ६ जना छोराछोरीसँग भारतको उडानमा देखिएकी थिइन् तर नोएल त्यहाँ थिएनन्।
टेक्सासका अधिकारीहरूले नोभेम्बर २०२३ मा उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरेका थिए। एफबीआईले जुलाई २०२५ मा सिन्डीलाई आफ्नो मोस्ट वान्टेड सूचीमा समावेश गरेको थियो।
सिन्डी रोड्रिग्जको जन्म १९८५ मा डलास, टेक्सासमा भएको थियो। भारत र मेक्सिकोसँग पनि उनको सम्बन्ध थियो । अमेरिका पुगेपछि सिन्डीलाई टेक्सासका अधिकारीहरूलाई सुम्पिनेछ, जहाँ उनीमाथि हत्या र अन्य आरोपमा मुद्दा चलाइने छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।