काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले दर्ता नभएको बहानामा गरिएको प्रतिबन्ध संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकविपरीत भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।”

पूर्वपदाधिकारीहरूले विदेशमा रहेका लाखौँ नेपाली र परिवारबीचको सम्पर्क टुटेको, बालबालिकाको शिक्षामा दीर्घकालीन असर परेको तथा हजारौँ व्यक्तिको रोजगारी हराएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल नियमन गर्न संसदमार्फत कानुन बनाउन सकिने उल्लेख गर्दै विज्ञप्तिमा तत्काल प्रतिबन्ध फुकुवा गर्न माग गरिएको छ। साथै, सरोकारवालाको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई आह्वान गरिएको छ।

यसै क्रममा, उनीहरूले भदौ २२ गते आइतबार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको घोषणा गर्दै सबै प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरलाई सहभागी हुन आह्वान गरेका छन्।

 

Share.

Comments are closed.

Exit mobile version