काठमाडौं, भदौ २३ – काठमाडौंमा जेनजीले सञ्चालन गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा आयोजित प्रदर्शनमा चार जना पत्रकार प्रहरीको गोली लागेर घाइते भएका छन् भने एक सञ्चारगृहमा ढुंगामुढा भएको छ।

नेपाल पत्रकार महासंघले घटनाप्रति कडा आपत्ति जनाएको छ। महासंघका अनुसार समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना, स्वतन्त्र पत्रकार शम्भु दंगाल र नेपाल प्रेसका उमेश कार्की घाइते भएका छन्। घाइते पत्रकारहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइँदै छ।

यस्तै, थाहा खबरको कार्यालयमा आन्दोलनकारीले ढुंगामुढा गरेका छन्।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने गरी गरिएको सामाजिक सञ्जाल नियन्त्रणको निर्णय तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेको छ। साथै, दमनकारी गतिविधि बन्द गरी वार्तामार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर केही प्रदर्शनकारीको मृत्यु भएकोप्रति महासंघले दुःख व्यक्त गर्दै मृतकका परिवारजनलाई क्षतिपूर्ति दिन र दोषीमाथि कारबाही गर्न माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षरित विज्ञप्तिमा घाइते पत्रकार र प्रदर्शनकारीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरिएको छ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version