धादिङ । जिल्ला अनुगमन समितिले सोमबार धुनिबेशी नगरपालिकामा सञ्चालित होटल, कोल्ड स्टोर र मिठाई पसलहरूमा अनुगमन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिका संयोजक मोहन प्रसाद न्यौपानेका अनुसार १५ वटा होटल, एक मासु पसल र एक मिठाई पसल अनुगमन गरिएको हो।

अनुगमनका क्रममा सरसफाइमा लापरबाही, निरन्तर चेतावनीपछि पनि सुधार नगरेको र अखाद्य वस्तु बिक्री गरेको पाइएकाले धुनिबेशी-८ को डिजी कोल्ड स्टोरलाई २५ हजार, हाईवे स्टाफ होटललाई २५ हजार र धुनिबेशी-६ को सुर्य मिठाई पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणी पुरीले जानकारी दिए।

अनुगमन टोलीले विभिन्न होटलहरूबाट करिब ५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद सकिएका खाद्यसामग्री बरामद गरेको पनि जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा गएको टोलीमा उद्योग तथा वाणिज्य कार्यालय, पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, आन्तरिक राजश्व कार्यालय गल्छी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू सहभागी थिए।

Share.

Comments are closed.

Exit mobile version