काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।
उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थमसनबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोवल माथि उठाउनु रहेको बताए । अमेरिकी राजदुतले हालैको घटनामा ज्यान गुमाउने परिवार प्रति समवेदना तथा सहानुभुति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे । साथै, अमेरिकी राजदुत थमसनले एमसीसीको सहयोगमा संचालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताए । अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने विश्वास दिलाए । सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फवाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गरे र भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा समेत व्यक्त गरे ।
उक्त वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सह सचिव श्री धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदुतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।