काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो तिहार (दीपावली) पर्वमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न ३२ स्थानमा बिक्री केन्द्र तोकेको छ।

महानगरले आयातित र प्लास्टिकजन्य फूलमालाको प्रयोग पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन यो पहल गरेको हो। विगत तीन वर्षदेखि महानगरले तिहारको समयमा स्वदेशी फूलको प्रवर्द्धनका लागि यस्ता बिक्री स्थलहरू सञ्चालन गर्दै आएको छ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) का अनुसार यस वर्ष पनि कात्तिक १ गतेदेखि ३२ ठाउँमा फूलमाला बिक्रीका लागि व्यवस्था गरिएको छ। उनले भने, “हाम्रो लक्ष्य आयातित र प्लास्टिकजन्य फूलमालाको प्रयोग बन्द गरी नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन गर्नु हो।”

महानगरले किसानलाई बजारमा सहज पहुँच उपलब्ध गराउने, ढुवानीमा सहयोग गर्ने र अवैध रूपमा फूलमाला बिक्री गर्नेहरूमाथि कडा निगरानी र कारबाही गर्ने तयारी गरेको छ। यसका लागि नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपाल सँग सहकार्य गर्दै कोल्ड स्टोर र बजार क्षेत्रमा अनुगमनसमेत गरिनेछ।

नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। प्रमुख शाहले स्वदेशी फूल प्रयोग गर्न सबै व्यापारी र उपभोक्तालाई आग्रह गर्दै भने, “हाम्रो चाहना किसानले आफ्ना उत्पादनको उचित मूल्य पाऊन् र उपभोक्ताले नेपाली फूलमा गर्व महसुस गरून्।”

नेपाल चेम्बर अफ कमर्सका सदस्य कृष्णमान श्रेष्ठ ले महानगरको यो कदमले किसान र उपभोक्ता दुवैलाई फाइदा पुर्‍याउने बताए। उनले भने, “स्वदेशी फूलको प्राथमिकताले विचौलियाको प्रभाव घटाउँछ र किसानको आम्दानीमा प्रत्यक्ष फाइदा पुग्छ।”

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठ ले व्यवसायीहरूलाई कोल्ड स्टोरमा फूल भण्डारण नगरी स्वदेशी फूलको प्रवर्द्धनमा जोड दिन आग्रह गरे।

संस्थाका महासचिव हिरामणि शर्मा ले भने, “भारतलगायत अन्य देशबाट सयपत्री फूल हाल वैधानिक रूपमा नेपाल भित्रिएको छैन। नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरेका कारण अहिले आउने फूलहरू अवैध रूपमा प्रवेश गर्ने गरेका छन्, जसलाई रोक्न हामी र महानगर दुवै सक्रिय छौं।”

उनका अनुसार तिहारका पाँच दिनमा करिब ४० लाख माला खपत हुने अनुमान छ, जसमा ३५ लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति हुन्छ। मखमली फूलमा नेपाल पूर्ण रूपमा आत्मनिर्भर भइसकेको र करिब २ लाख मखमली माला निर्यात गर्न सकिने सम्भावना रहेको उनले बताए।

सयपत्री मालाको मूल्य करिब*रु १३० र मखमली मालाको मूल्य रु ६०–६५ हुने अनुमान छ। सोभन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्ने चेतावनी दिएको छ।

फूलमाला बिक्रीका लागि तोकिएका ३२ स्थानहरू:
एनभी सेन्टर (नयाँ बानेश्वर), बिग मार्ट (शंखमूल), आइप्लेक्स मल, सेल्सबेरी (मध्यबानेश्वर), फोनेक्स टावर (बत्तीसपुतली), तीनकुने चौर, सिफल चौर, एसी कम्प्लेक्स (चाबहिल), गणेशस्थान तरकारी बजार, केएल टावर, धर्मचक्र पार्क (स्वयम्भू), कालीमाटी ब्याङ्क्वेट, द्यौखेल (कालीमाटी), भाटभटेनी (कलंकी), भ्याली कोल्ड स्टोर (नयाँ बजार), बुद्ध महल, गुणस्तर खाल्डो (माछापोखरी), वडा नं. ५ डबली (हाँडीगाउँ), गणेश मन्दिर डबली, कोइराला स्मार्ट (सामाखुशी), सेल्सबेरी (महाराजगञ्ज), बिग मार्ट (गंगबु, चपलकारखाना, बालुवाटार), आइटी भवन (कमलादी), स्टार मल (पुतलीसडक), भाटभटेनी (अनामनगर), टेवाल मन्दिर (सुन्धारा), काठमाडौं मल (सुन्धारा), वडा नं. २८ कार्यालय स्थल (अद्धेतमार्ग) र बजरा कम्प्लेक्स (न्यू प्लाजा)।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version