काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् ।

सरकारले फिर्ता बोलाएका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन् ।

फिर्ता बोलाइएका राजदूतमध्ये सुवेदीबाहेक सबै राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका थिए ।

तत्कालिन ओली नेतृत्वको सरकारले भागबण्डामा नियुक्ति गरेका राजदूतमध्ये भारतका लागि डा. शंकर शर्मा, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपालीलाई फिर्ता बोलाइएको छैन ।

फिर्ता बोलाइएका राजदुतलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको छ ।

Share.

Comments are closed.

Exit mobile version