काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले ६ ठूला उद्योगको बिजुली लाइन काटेको छ। लक्ष्मीपूजाको भोलिपल्ट बिहानै प्राधिकरणले यी उद्योगहरूमा कारबाही स्वरूप लाइन काटेको हो।

लाइन काटिने उद्योगहरूमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्। प्राधिकरणका अनुसार यी सबै उद्योगहरूले धेरै समयदेखि ठूलो रकमको बक्यौता तिरेका छैनन्।

यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमा बक्यौता तिर्न २१ दिने सूचना जारी गरेको थियो। लक्ष्मीपूजा मनाउन समय दिँदै सोमबार लाइन नकटाइएको भए पनि मंगलबार बिहानैदेखि प्राधिकरणले कार्यान्वयन थालेको हो।

ऊर्जामन्त्री कुलमान घिसिङ प्राधिकरणका प्रबन्ध निर्देशक हुँदा डेडिकेटेड र ट्रंकलाइनमा छुट बिल भन्दै प्रिमियम थपेर बिल पठाइएको विवाद सात वर्षदेखि कायमै छ। उद्योगीहरूले भने “टाइम अफ द डे”  मिटर तथ्यांकअनुसार मात्रै बिल तिर्ने अडान लिँदै आएका छन्।

प्राधिकरणले अहिलेसम्म प्रिमियम थपिएको बिलको प्रमाण सार्वजनिक गर्न सकेको छैन। तर, बक्यौता असुल्नका लागि उद्योगको लाइन काट्ने रणनीति अघि सारेको हो।

सोमबार मात्र उद्योगीहरूले डेडिकेटेड तथा ट्रंकलाइनको पहिलो किस्ता नतिर्ने निर्णय गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थीले ऊर्जामन्त्री घिसिङलाई भेटी विवाद समाधानका लागि आग्रह गरेका थिए।

घिसिङले छलफलमा आफू लचिलो भएर विवाद सुल्झाउने आश्वासन दिएका थिए। महासंघले पनि उद्योगीहरूलाई आन्तरिक छलफल गरी समाधानका विकल्प खोज्न सुझाव दिएको थियो।

तर उद्योगीहरूले प्राधिकरणले पठाएको बिल फर्जी भएको दाबी गर्दै नयाँ प्रमाणसहितको बिल जारी नगरी रकम तिर्न नसक्ने बताएका छन्। अधिकांश उद्योगको एउटै धारणा भएपछि प्राधिकरणको चेतावनी अस्वीकार गर्दै उनीहरूले पहिलो किस्ता नतिर्ने निर्णय गरेका थिए।

कुलमान घिसिङ प्राधिकरण प्रमुख हुँदा जारी गरिएको यो विवादित बिलमार्फत २२ अर्ब रुपैयाँ असुल गर्न बाँकी रहेको प्राधिकरणको दाबी छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version