धादिङ । धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा भारतीय धार्मिक पर्यटकमाथि स्थानीय एक युवकले गरेको कुटपिट र दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि तीव्र प्रतिक्रिया व्यक्त भएको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो तीव्रगतिमा फैलिनुले नेपालमा विदेशी पर्यटकको सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ।
भारतको राजस्थान, भरतपुर जिल्लाबाट १२ ज्योर्तीलिङ्ग र चारधामको पैदल यात्रामा निस्किएका राहुल शिव नामक पर्यटकलाई मंसिर १७ गते दिउँसो हातपात भएको हो। उनले ४२७ दिनको यात्रा पूरा गर्दै पशुपतिनाथ मन्दिरको दर्शन पछि भारत फर्कने क्रममा भल्टारमा चिया पिउन रोकिँदा घटना घटेको बताइएको छ।
सार्वजनिक भएको भिडियोमा मदिराको असर देखिने स्थानीय नवराज खड्काले राजमार्ग किनारमा बसेका पर्यटकलाई धकेल्दै हातपात गर्ने, ब्याग फ्याँक्ने र अपशब्द प्रयोग गर्ने दृश्य देखिन्छ। घटनाको प्रारम्भिक कारण स्पष्ट नभए पनि विदेशीसँग भएको व्यवहार अत्यन्त अपमानजनक र अराजक देखिन्छ।
यही भिडियो राहुलले आफ्नो ‘राहुल शिव ट्राभल्स’ नामक इन्स्टा खाताबाट “नेपालके गल्छिके घटना” शीर्षकमा पोस्ट गरेपछि २४ घण्टामै २ करोडभन्दा बढी पटक हेरिएको छ। भिडियोले भारतीय मात्र होइन, नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामा समेत रोष र चिन्ता पैदा गरेको छ।
राहुलका अनुसार आफू कुनै विवादमा नगरेको अवस्थामा अकस्मात् आक्रमण भए पनि प्रहरीमा उजुरी दिन जाँदा सहयोग नपाएको अनुभव उनले सार्वजनिक गरेका छन्। घटनास्थलबाट करिब एक किलोमिटरमा रहेको गल्छी प्रहरी चौकी पुगेर आंफु माथि ज्यादती भएको जानकारी गराउँदा त्यहाँका प्रहरीले आंफु विदेशी भएको कारण घटनालाई हल्का रुपमा लिंदै उल्टै हप्कीदप्की गरेको खबरसाईटलाई बताएका छन् । प्रहरीको यस्तो व्यवहारले दुर्व्यवहारका बारेमा थप आलोचना र अविश्वास बढाएको छ।
यस विषयमा गल्छी–७ का वडाअध्यक्ष हरि खतिवडाले घटना “सिंगो नेपाली समाजको बदनाम हुने खालको” भएको भन्दै गम्भीर छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनका अनुसार विनाकारण विदेशी नागरिकमाथि हातपात हुनु स्थानीय क्षेत्र, पर्यटन क्षेत्र र नेपालकै छविमाथि प्रत्यक्ष प्रभाव पार्ने घटना हो।

घटना भल्टारमा भएको पुष्टि स्थानीयले गरे पनि प्रारम्भिक तहमा प्रहरी प्रशासनले अपेक्षित सक्रियता नदेखाएको र पीडितसँग समुचित व्यवहार नभएको आरोप सार्वजनिक भइरहेका छन्। मदिराले प्रभावित व्यक्तिको अनियन्त्रित व्यवहारलाई रोक्न स्थानीय र सुरक्षाकर्मी तत्पर नभएकोले यस्तो घटना घटेको हो ।
यस घटनाले नेपालमा पर्यटक–मैत्री व्यवस्थापन, स्थानीय तहको जिम्मेवारी, र प्रहरीको प्रारम्भिक प्रतिक्रिया प्रक्रिया समग्ररूपमा पुनरवलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ। भाइरल भिडियोका कारण दुवै देशका सामाजिक सञ्जाल प्रयोगकर्ताले कडा आलोचना गर्दै भविष्यमा यस्ता घटनाबाट नेपालले ठूलो छवि–नोक्सानी बेहोर्न सक्ने चेतावनी दिएका छन्।
घटना हुंदा देखिएकी एक महिला राहुललाई कुटपिट गर्दा मौन देखिएकी छिन भने कुटपिटको भिडियो खिच्दा अनुमति विना भिडियो किन खिचेको भन्दै उल्टै पिडितलाई हप्काईरहेको देखिन्छ । अर्का दुई व्यक्तिले भने खड्कालाई रोक्न प्रयास गरेपनि मदिराको कारण आवाज पनि नबुझिने भईसकेका र लरजरिएका खड्काले पटक पटक राहुललाई झम्टिएको दृष्य भिडियोमा देखिन्छ ।
उनले सो घटना संग सम्वन्धित छुट्टाछुट्टै ६ वटा भिडियो इन्स्टामा पोष्ट गरेका छन् ।अधिकांश भिडियोमा उनी माथि भएको कुटपिटको निन्दा गर्दै दोषि माथि कारवाहीको आवाज उठाईएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।