काठमाडौं । नागढुंगा–मलेखु सडकखण्डको पिप्लामोड तथा धादिङको पोखरेभीर क्षेत्रमा मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक दिउँसो १०:३० बजेदेखि ३ बजेसम्म यातायात आवागमन बन्द गरिने भएको छ।

सो सडकखण्डमा कालोपत्रे र स्तरोन्नति कार्य अघि बढिरहेकोले उक्त अवधिमा सवारी सञ्चालन रोक्न लागिएको हो। सडक विस्तार तथा सुधारका कारण नागढुंगादेखि पिप्लामोडसम्म र गल्छी–गजुरी खण्डअन्तर्गतको पोखरेभीर क्षेत्रमा सवारी चलाउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले जनाएका छन्।

आपत्कालीन सेवा, एम्बुलेन्स, सुरक्षासम्बन्धी सवारी तथा अत्यावश्यक कार्यका सवारी भने आवश्यक समन्वयका आधारमा मात्रै सञ्चालन हुनेछन्। पिप्लामोड क्षेत्रमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीहरू नागढुंगा चेकपोस्टमा रोकिने छन्, भने नौबिसेबाट काठमाडौँ फर्कने सवारी नौबिसे र खानीखोलामा रोकिने सुविधा मिलाइएको छ।

पोखरेभीर क्षेत्रमा नौबिसेबाट मलेखुतर्फ जाने सवारी गल्छी–बैरेनीमा रोकिनेछन्। त्यस्तै, मलेखुबाट नौबिसेतर्फ आउने सवारी मलेखुमै रोकिने नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ।

सडक बन्द अवधिमा साना र मझौला सवारीका लागि सीतापाईला–रामकोट–भिमढुंगा–धार्के सडक, साथै सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेत–त्रिशूली पुल तरेर घाटबेसी सम्म पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। निर्धारित समयबाहेक अन्य समयमा सडक सञ्चालन सामान्य रहने छ। दिउँसो ३स्३० बजेपछि मात्रै बन्द भएका सवारी साधन छोडिने व्यवस्था गरिएको छ। यात्रा सुरक्षित र सहज बनाउन प्रशासनले चालक तथा यात्रु सबैलाई आवश्यक निर्देशन पालना गर्न अनुरोध गरेको छ।

Share.

Comments are closed.

Exit mobile version