काठमाडौँ । ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राति पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन्।

घिसिङले बुधबार राति नै प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका छन्। नागरिक सरकारमा बसेर दलगत गतिविधिमा संलग्न भएको आरोप लाग्दै आएको अवस्थामा पदमा कायम रहेको भन्दै उनको चर्को आलोचना भइरहेको थियो।

मंगलबार आयोजित एक कार्यक्रममा घिसिङले आफू अहिलेसम्म कुनै पनि दलमा आवद्ध नरहेको बताएका थिए। उक्त अभिव्यक्तिपछि उनको आलोचना झनै बढेको थियो। प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको आरोप लगाउँदै कुलमान घिसिङसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकारमा कुलमान घिसिङलाई भदौ २९ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरिएको थियो।
उनले भदौ ३० गते मन्त्री पदको शपथ लिएका थिए।

 

Share.

Comments are closed.

Exit mobile version