काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। आधुनिक नेपालको एकीकरणमा अतुलनीय योगदान पुर्‍याएका शाहप्रति श्रद्धा व्यक्त गर्दै सरकारी तथा गैरसरकारी निकायहरूले विविध कार्यक्रम आयोजना गरेका छन्।

दिवसको अवसरमा सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरिएको छ। बाइसे–चौबिसे राज्यहरूलाई एकीकृत गर्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको जग बसाल्ने कार्यमा उनले खेलेको भूमिकाको स्मरण गरिएको हो।

विसं १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा गोरखाको गद्दी सम्हाल्दै एकीकरण अभियान सुरु गरेका थिए। ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उनका दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सान्दर्भिक मानिन्छन्।

उनको योगदानको कदर गर्दै सरकारले पछिल्ला वर्षमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिने व्यवस्था पुनः लागू गरेको छ। शाहको जन्मस्थान गोरखासहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

Share.

Comments are closed.

Exit mobile version