काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि अधिवेशन सिंहदरबारस्थित संसद् सचिवालयमा सञ्चालन गरिने भएको हो। पहिलो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो। आज बस्ने पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। साथै हालै निधन भएका नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षासम्बन्धी तयारी पूरा भइसकेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा आज बिहान ११ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।
यसैबीच निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारी अघि बढाएको छ। एक जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू आउने क्रम जारी रहने भएकाले यो अधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।
