काठमाडौँ ।बंगलादेशको एक विशेष अदालतले ढाका महानगरीय प्रहरीका तीन पूर्व वरिष्ठ अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पद त्याग्न बाध्य पार्ने हिंसात्मक सडक प्रदर्शनमा कथित भूमिकाका लागि उनीहरूलाई सजाय तोकिएको हो।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन न्यायाधीशको इजलासले पूर्व ढाका महानगरीय प्रहरी आयुक्त हबिबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उपायुक्त मोहम्मद अख्तरुल इस्लामलाई मृत्युदण्डको सजाय सुनाएको हो। इजलासको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मुर्तजा मजुमदारले गर्नुभएको थियो।

यो पुनर्गठित न्यायाधिकरणको दोस्रो फैसला हो। यसअघि न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइसकेको छ।

अदालतको फैसलामा तीनै जना पूर्व प्रहरी अधिकारीहरूले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै मातहतका कर्मचारीहरूलाई हिंसात्मक गतिविधिमा संलग्न गराएको उल्लेख गरिएको छ।

त्यसैगरी, ढाकाका सहायक प्रहरी आयुक्त मोहम्मद इमरुललाई छ वर्ष, निरीक्षक अरशद हुसेनलाई चार वर्ष तथा हवल्दारहरू सुजान हुसेन, इमाज हुसेन र नसिरुल इस्लामलाई तीन–तीन वर्ष कैद सजाय सुनाइएको छ।

मृत्युदण्ड पाएका तीन पूर्व प्रहरी अधिकारीमध्ये सहायक आयुक्त इमरुलको मुद्दा अनुपस्थितिमै सुनुवाइ गरिएको थियो, किनभने उनलाई यसअघि नै फरार घोषित गरिएको थियो। अन्य अभियुक्तहरूले भने अदालतमा उपस्थित भएर मुद्दाको सामना गरेका थिए।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version