काठमाडौँ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा पछिल्लो १२ घण्टामा २० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ भने केही स्थानमा २९.६ मिलिमिटरसम्म वर्षा भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले कर्णाली र लुम्बिनी प्रदेशमा पनि वर्षा र हिमपात भइरहेको छ।
यस प्रणालीका कारण उच्च हिमाली क्षेत्रदेखि कोशी प्रदेशसम्म बादलले ढाकिएको अवस्था रहेको छ। मौसम प्रणाली हाल पूर्वी नेपालतर्फ प्रवेश गर्दै गएको देखिएको मौसमविद्हरूले जनाएका छन्।
मौसमको यस्तो अवस्थाका कारण आज देशभर घाम लाग्ने सम्भावना न्यून रहेको छ। कतिपय स्थानमा घाम लागे पनि धमिलो मात्र देखिने अनुमान गरिएको छ। पश्चिमी नेपालको तुलनामा पूर्वी नेपालमा यसको प्रभाव कम रहने बताइएको छ।


