धादिङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ‘घण्टी’ चुनाव चिन्हसहित उम्मेदवारी दिएका बोध नारायण श्रेष्ठ विकास र सुशासन को नारा लिएर राजनीतिमा होमिएका छन् । राजनीति नारामुखी होइन, नीतिमुखी र परिणाममुखी हुनुपर्ने श्रेष्ठको भनाई छ ।
राष्ट्रिय तथा प्रदेशस्तरमा लामो समय सार्वजनिक सेवा र विकासका क्षेत्रमा काम गरेका श्रेष्ठले विकासलाई केवल घोषणामा सीमित नराखी नीति, प्रणाली र नागरिकको सक्रिय सहभागितासँग जोडेर अघि बढाउनुपर्ने स्पष्ट दृष्टिकोण राख्दै आएका छन्। उनको राजनीतिक यात्रा अनुभव, सामाजिक उत्तरदायित्व र व्यवहारिक सोचमा आधारित देखिन्छ।
युनिसेफ नेपालमा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (वास ) अधिकृतका रूपमा कार्य गर्दा उनले मधेश, वागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका दुर्गमदेखि शहरी क्षेत्रसम्म प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाए। यस क्रममा उनले विकासका आवश्यकता, चुनौती र सम्भावनालाई नजिकबाट बुझेका छन्, जसले उनलाई जमिनसँग जोडिएको नेताका रूपमा स्थापित गरेको छ।
विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका क्षेत्रमा पनि श्रेष्ठको योगदान उल्लेखनीय छ। सन् २०१४, २०१७, २०१९ र २०२४ मा आएको बाढी, २०१५ को विनाशकारी भूकम्प तथा कोभिड–१९ महामारीका कठिन घडीमा उनी अग्रपंक्तिमा रहेर राहत, समन्वय र पुनःस्थापनाका काममा सक्रिय रहे। संकटको समयमा देखाएको नेतृत्व क्षमताले उनलाई कर्मठ र भरोसायोग्य व्यक्तित्वका रूपमा चिनाएको छ।

संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग प्रत्यक्ष समन्वय गर्दै काम गरेका श्रेष्ठ संघीयता कार्यान्वयनका क्रममा ऐन, कानुन र नीतिगत संरचना निर्माणमा समेत संलग्न रहँदै आएका छन्। नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभवले उनलाई भाषणभन्दा समाधान खोज्ने व्यवहारिक नेताको रूपमा उभ्याएको छ।
योग्यता र नेतृत्व क्षमताको दृष्टिले पनि श्रेष्ठ सशक्त उम्मेदवार मानिन्छन्। उनी युनिसेफ नेपालका पूर्व वास अधिकृत हुनुका साथै नेपाल रेडक्रस सोसाइटीमा पूर्व मन्त्री, उपसभापति तथा संगठन व्यवस्थापकका रूपमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। त्यस्तै, बुढीगण्डकी जलविद्युत् आयोजनामा सामाजिक पक्षका पूर्व सल्लाहकार, बुढीगण्डकी क्याम्पस (ज्वालामुखी, धादिङ) का संस्थापक अध्यक्ष तथा विभिन्न विद्यालयहरूमा शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गर्ने अभियन्ताका रूपमा पनि उनी परिचित छन्।
शैक्षिक रूपमा ग्रामीण विकासमा स्नातकोत्तर तथा राजनीति शास्त्रमा स्नातक अध्ययन गरेका श्रेष्ठले सिद्धान्त र व्यवहारलाई सन्तुलनमा राखेर अघि बढ्ने क्षमता देखाएका छन्।
अनुभव, दक्षता, सामाजिक योगदान र परिणाममुखी सोचका कारण बोध नारायण श्रेष्ठलाई धादिङ–२ मा ‘घण्टी’ चिन्हसहितको प्रभावशाली, भरोसायोग्य र वैकल्पिक उम्मेदवारका रूपमा हेर्न थालिएको छ। मतदाताबीच उनको छवि केवल उम्मेदवारको होइन, दीर्घकालीन विकास र सुशासनको संवाहकको रूपमा स्थापित हुँदै गएको देखिन्छ।
- (हामी यस स्तम्भ मार्फत उम्मेदवारको परिचय सहितको समाचार सामाग्री प्रकाशन गर्नेछौ, तपाई पनि आफ्नो बारेमा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला – सम्पादक)