धादिङ, १७ माघ – धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाकका प्रभावशाली नेता उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टीका शीर्ष नेताहरूले अधिकारी सहितको टोलीलाई खादा र माला लगाएर स्वागत गरे।

धादिङ जिल्लाको एक मात्र टेलिभिजन, दिव्यदर्शन टेलिभिजनका सञ्चालकसमेत रहेका अधिकारीको यो कदमले जिल्लाको राजनीतिक वृत्तमा नयाँ तरंग र बहस पैदा गरिदिएको छ। सैन्य सेवाबाट अवकाश लिएपछि राजनीतिमा होमिएका अधिकारीको रास्वपामा यो दोस्रो पटकको प्रवेश हो।

सैन्य सेवापछि एमालेको राजनीतिबाट यात्रा सुरु गरेका अधिकारीले नेत्रावती डबजोङलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै आएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्षको टिकट नपाएपछि उनले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए। ‘भुइँकटर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उनले ७ सय १४ मत प्राप्त गरेका थिए, जबकि एमालेका आधिकारिक उम्मेदवार सुवर्ण रिमालले १ हजार ९७ मत मात्रै प्राप्त गर्न सफल भएका थिए।

निर्वाचन लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए र २०८० जेठमा धादिङ निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

रास्वपामा एक वर्ष सक्रिय रहेपछि अधिकारी २०८१ जेठ ३ गते पुनः एमालेमै फर्किएका थिए। ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले उनलाई तामझामका साथ पार्टीमा स्वागत गरेका थिए। त्यतिबेला अधिकारीले आत्मालोचना गर्दै ‘एमालेमै रहेर समृद्धिका लागि काम गर्ने’ बताएका थिए।

तर, एमाले फर्किएको करिब २० महिना पुग्दा नपुग्दै उनी पुनः रास्वपामा फर्किएका छन्। एमालेभित्रको गुटबन्दी र स्थानीय पार्टी कमिटीले आफूलाई ‘बाइपास’ गर्दै पूर्वाग्रह राखेका कारण आफूले एमाले छाड्नुपरेको उनको गुनासो छ।

अधिकारीको बहिर्गमनलाई एमालेका लागि ठूलो राजनीतिक क्षतिका रूपमा हेरिएको छ। नेत्रावती डबजोङमा उनको व्यक्तिगत प्रभाव राम्रो मानिन्छ। उनीसँगै रास्वपाबाट एमाले गएका शुकबहादुर गुरुङ, सुजन मम्वा, कृष्ण लामा लगायतको टोलीको वर्तमान अवस्थाबारे पनि चर्चा सुरु भएको छ।

राजनीतिसँगै मिडिया उद्योगमा समेत सक्रिय अधिकारीको यो अस्थिर राजनीतिक कदमलाई कसैले ‘अवसरको खोजी’ भनेका छन् भने कसैले ‘एमालेभित्रको आन्तरिक कलहको परिणाम’ मानेका छन्। अधिकारीको यो ‘यू-टर्न’ ले आगामी दिनमा नेत्रावती डबजोङ र समग्र धादिङको राजनीतिमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ।


Share.

Comments are closed.

Exit mobile version