काठमाडौँ – गृह मन्त्रालयले आगामी निर्वाचनहरूलाई थप मर्यादित र विश्वासिलो बनाउन वडातहसम्मकै सरोकारवालाहरूको समन्वय र सहभागिता सुनिश्चित गर्ने नयाँ विशेष अवधारणा अघि सारेको छ। निर्वाचनलाई केवल प्राविधिक प्रक्रियामा मात्र सीमित नराखी आम नागरिकको अपनत्व बढाउन मन्त्रालयले शुक्रबार ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ सार्वजनिक गरेको हो।

निर्वाचनका हरेक चरणमा हुनसक्ने सम्भावित असुरक्षा र धाँधलीलाई न्यूनीकरण गर्दै स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरण निर्माण गर्नु यस अवधारणाको मुख्य लक्ष्य रहेको छ। यसका लागि वडातहमा रहेका राजनीतिक दलका पदाधिकारी, स्थानीय प्रबुद्ध व्यक्ति, नागरिक समाज, सञ्चारकर्मी र निजी क्षेत्रको भूमिकालाई औपचारिक रूपमै प्रभावकारी बनाइने गृह मन्त्रालयले जनाएको छ। निर्वाचनमा सुरक्षा चुनौतीलाई वडातहबाटै सम्बोधन गर्न सकिएमा समग्र प्रक्रिया नै स्वच्छ हुने मन्त्रालयको ठहर छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यस अवधारणाले निर्वाचनप्रति आम जनमानसको भरोसा र अपनत्व बढाउन मद्दत गर्नेछ। वडातहमा क्रियाशील विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा सहभागी गराउँदा स्थानीय स्तरमा हुने विवाद र अवरोधहरूलाई सहजै व्यवस्थापन गर्न सकिने विश्वास लिइएको छ। यस प्रक्रियाले निर्वाचनमा हुने अनावश्यक खर्च र शक्ति प्रदर्शनलाई समेत नियन्त्रण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यस नयाँ अवधारणालाई तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिसकेको छ। यसको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिलाई सुम्पिएको छ। स्थानीय प्रशासनले वडातहसम्म समन्वय संयन्त्र निर्माण गरी राजनीतिक दल र सरोकारवालाहरूसँग नियमित संवाद र सहकार्य अघि बढाउनुपर्नेछ।

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा संयन्त्र मात्र पर्याप्त नहुने भन्दै राजनीतिक र सामाजिक तहबाटै सुधारको प्रयास थालिएको मन्त्रालयले स्पष्ट पारेको छ। यस अवधारणाले आगामी निर्वाचनहरूमा सुरक्षा निकाय र आम नागरिकबीचको दूरी कम गरी निर्वाचनको विश्वसनीयतालाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरिएको छ।

Share.

Comments are closed.

Exit mobile version