काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको छ। आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३० लाख थान मतपत्र छपाइ भइसकेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको छ। हालसम्म २५ वटा जिल्लाका लागि आवश्यक पर्ने प्रत्यक्षतर्फका मतपत्रहरू तयार भइसकेका छन्।

  • समानुपातिकतर्फ: यसअघि नै २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

  • नमूना मतपत्र: मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र समेत छापिएका छन्।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सूचनामूलक सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ। यी सामग्रीहरू आयोगका आधिकारिक सामाजिक सञ्जालहरू (फेसबुक, एक्स, टिकटक र युट्युब) मार्फत नागरिकमाझ पुर्‍याइएको छ। यस्ता सामग्रीले मिथ्या सूचना र भ्रमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने आयोगको विश्वास छ।

निर्वाचनको वातावरण र तयारीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोगले काठमाडौँस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्र सङ्घीय निकायका प्रतिनिधिहरूसँग छलफल गरेको छ।

परराष्ट्र मन्त्रालयको समन्वयमा आयोजित ब्रिफिङमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन सुरक्षा, तयारी र पर्यवेक्षणका विषयमा जानकारी गराउनुभएको थियो। उक्त कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूले नेपालको निर्वाचन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन भइरहेका प्रयासहरूबारे प्रष्ट पारेका थिए।

Share.

Comments are closed.

Exit mobile version