काठमाडौं, चैत ६-जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसको प्रभावका कारण विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना देखिएको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदलीको अवस्था कायम छ भने कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखिएको छ। तराई तथा अन्य भू-भागमा भने मौसम मुख्यतः सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

Share.

Comments are closed.

Exit mobile version