काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको विवरण बाहिरिएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले कलाकार, पत्रकारदेखि सामाजिक सञ्जालका चर्चित अनुहारहरूले समेत तथ्यहीन सूचना सम्प्रेषण गरेको औंल्याएको हो।
सरकारले औपचारिक रूपमा सार्वजनिक नगरेको उक्त प्रतिवेदनका अनुसार, आन्दोलनका बेला भएका भ्रामक दाबीहरूले समाजमा उत्तेजना फैलाएको पाइएको छ। विशेषगरी चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ वटा मानव कङ्काल फेला परेको र बानेश्वरस्थित संसद् भवनभित्र ३२ जना प्रदर्शनकारी मारिएको जस्ता पूर्णतः गलत सूचनाहरू प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ। यस्तो भ्रामक प्रचारबाजीमा कलाकार शिव परियार, हिमेश पन्त, सामाजिक सञ्जालका सुजन ढकाल, टंक ढकाल र भाग्य न्यौपानेलगायतको संलग्नता देखिएको आयोगले जनाएको छ।
प्रतिवेदनले अन्य केही चर्चित घटनाहरूको पनि पर्दाफास गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हिमालयन एयरलाइन्समार्फत दुबई भागेको भनी एक विमान परिचारिकाले गरेको दाबी आधारहीन पुष्टि भएको छ। त्यस्तै, कांग्रेस नेता गगन थापामाथि कुटपिट भएको र एमाले नेता विष्णु पौडेलमाथि आक्रमण भएको भनी फैलाइएका भिडियोहरू पनि भ्रामक रहेको पाइएको छ। पूर्वराजाको स्वागतका लागि नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने हल्लासमेत नियोजित रूपमा फैलाइएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, पत्रकार दिलभूषण पाठकले हिल्टन होटलमा शेरबहादुर देउवा परिवारको लगानी रहेको भनी गरेको दाबीका कारण होटलमाथि भौतिक आक्रमण भएको र त्यसले वैदेशिक लगानीको वातावरणमा गम्भीर असर पुर्याएको प्रतिवेदनको निष्कर्ष छ। यद्यपि, उक्त समाचार आन्दोलनभन्दा केही समय अगाडि नै प्रसारण भएको पनि स्पष्ट पारिएको छ।



