काठमाडौं, १३ चैत ।मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री नियुक्तिको औपचारिक घोषणा पश्चात् अपराह्न शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलको नेताका रूपमा शाह प्रधानमन्त्री बन्न लागेका हुन्।
शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, निजी क्षेत्रका प्रतिनिधि तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएको छ। समारोहलाई विशेष महत्वका साथ तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि आजै शपथ गराइने सम्भावना रहेको छ। प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गरी क्रमशः विस्तार गर्ने तयारी रहेको स्रोतहरूले बताएका छन्। नयाँ सरकार गठनसँगै प्रशासनिक पुनर्संरचना, सुशासन, सेवा प्रवाहमा सुधार तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हासिल गर्दै १८२ सिट जितेको थियो। सो दलले बिहीबार बसेको संसदीय दलको बैठकबाट बालेन शाहलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो।
निर्वाचनमा शाहले झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका थिए। उनी लामो समयदेखि वैकल्पिक राजनीतिका पक्षधरका रूपमा चिनिँदै आएका छन् र युवामाझ लोकप्रिय नेताका रूपमा स्थापित भएका छन्।
यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्। अब प्रधानमन्त्रीको शपथसँगै नयाँ सरकार गठनले औपचारिकता पाउनेछ।
नयाँ नेतृत्वप्रति जनतामा उच्च अपेक्षा रहेको छ। विशेषगरी सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, आर्थिक सुधार र विकास निर्माणका क्षेत्रमा ठोस काम हुने विश्वास व्यक्त गरिएको छ। बदलिँदो राजनीतिक परिवेशमा बालेन शाहको नेतृत्वले नयाँ दिशा दिने अपेक्षा गरिएको छ।



