काठमाडौँ, १५ चैत। आफ्ना पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आन्दोलित बनेको नेकपा (एमाले) ले आज आइतबार पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ। एमाले सचिवालय बैठकको निर्णय अनुसार आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने र आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरिएको हो।
शनिबार बिहान अध्यक्ष ओली पक्राउ परेलगतै एमालेका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका थिए। शनिबार काठमाडौँको माइतीघर मण्डला र भृकुटीमण्डप लगायतका क्षेत्रमा सरकार विरुद्ध नाराबाजी र प्रदर्शन भएका थिए भने देशका विभिन्न जिल्लाहरूमा पनि विरोधका कार्यक्रमहरू आयोजना गरिएका थिए।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको सिफारिसका आधारमा शुक्रबार बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा शनिबार बिहान एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आफ्ना शीर्ष नेताको पक्राउलाई एमालेले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ। आज ७७ वटै जिल्लामा विरोध पत्र बुझाएसँगै एमालेले आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने जनाएको छ।



