काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले आफू फरार भएको भन्ने प्रचारको खण्डन गर्दै त्यसलाई पूर्णतः भ्रामक र गलत दाबी गरेका छन्। आइतबार एक वक्तव्य जारी गर्दै नेता बस्नेतले आफूविरुद्ध नियोजित रूपमा हल्ला फैलाएर जनमत भ्रमित पार्ने प्रयास भइरहेको र आफू फरार नरहेको स्पष्ट पारेका हुन्।

उनले आफूविरुद्धको जाहेरी यसअघि नै प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको र सोही विषयमा उच्च अदालत पाटनमा दायर रिटसमेत खारेज भइसकेको स्मरण गराएका छन्। हाल उक्त विषयमा पूरक जाहेरी दर्ता भई मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई आफूलाई पक्राउ गर्ने षड्यन्त्र रचिएको बस्नेतको आरोप छ। उनले यसलाई कानुनी प्रक्रियाभन्दा पनि ‘मिडिया ट्रायल’ मार्फत खुइल्याउने खेलको रूपमा चित्रण गरेका छन्।

नेता बस्नेतले पछिल्लो घटनाक्रमलाई बालेन शाह नेतृत्वको शैली र गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका छन्। उनले वर्तमान प्रशासनले निरंकुश र अधिनायकवादी शैली अपनाएको आरोप लगाउँदै यस्ता कुकर्मको प्रतिफल उनीहरूले भविष्यमा भोग्नुपर्ने चेतावनी समेत दिएका छन्।

Share.

Comments are closed.

Exit mobile version