काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी वैशाख १८ गतेदेखि जिल्लाभर रहेका सबै अनधिकृत बस्तीहरू हटाउने प्रक्रिया सुरु गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै प्रशासनले नदी किनार, सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका घरटहराहरू वैशाख १८ गते बिहान ७ बजेदेखि एकैसाथ खाली गराउन लागिएको जानकारी दिएको हो।

प्रशासनले वर्षौँदेखि जोखिमयुक्त क्षेत्रमा बस्दै आएका स्थानीयलाई वैशाख १७ गते साँझसम्म आफ्ना सबै सरसामान सुरक्षित स्थानमा सारिसक्न निर्देशन दिएको छ। विशेष गरी नदी किनार र जोखिमयुक्त क्षेत्रमा रहेका संरचनाहरूलाई प्राथमिकतामा राखेर हटाउन लागिएको हो। यो अभियान नागरिक सुरक्षा र सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सरकारले स्पष्ट पारेको छ।

उद्धार कार्यलाई सहज बनाउन प्रशासनले बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र बालबालिकाहरूलाई समयमै सुरक्षित स्थानमा सार्न विशेष आग्रह गरेको छ। अस्पताल जानुपर्ने बिरामीहरूका लागि एम्बुलेन्सको व्यवस्था मिलाइएको छ भने सामान ढुवानीमा समस्या परे सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय गर्न सकिने जनाइएको छ। यो अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीलाई ठुलो संख्यामा परिचालन गरिनेछ।

सरकारले वास्तविक रूपमा आश्रयहीन रहेका परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्ने र भूमिहीनहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रक्रिया अगाडि बढाइने आश्वासन दिएको छ। यद्यपि, अनुगमनका क्रममा नक्कली भूमिहीन फेला परेमा उनीहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रशासनले बस्ती खाली गर्ने क्रममा हुनसक्ने अफवाह वा गलत हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ। यो अभियान पूर्णतः मानवीय सहायता र उद्धार कार्यमा आधारित रहने बताउँदै सरकारले सुरक्षा र व्यवस्थापनमा सहयोग पुर्‍याउन सबै सरोकारवाला पक्षसँग अपिल गरेको छ।

Share.

Comments are closed.

Exit mobile version