धादिङ, ३१ जेठ । सिद्धलेक गाउँपालिकाले आयोजना गर्न लागेको शिक्षक सम्मान कार्यक्रम विवादको घेरामा तानिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्न आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाले ‘प्रशासनिक सर्त’ तेर्स्याएपछि पालिकाभित्रका अधिकांश माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई कार्यक्रममा सहभागी हुन रोकिएको छ ।

आज जेठ ३१ गते गाउँपालिका कार्यालयमा कक्षा ८ र १० को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विषयगत उत्कृष्ट शिक्षक, ३.६ वा सोभन्दा माथि जीपीए (GPA) ल्याउने विद्यार्थी र खेलकुदका पदक विजेताहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। तर, सो कार्यक्रमका लागि पठाइएको निमन्त्रणा पत्रमा राखिएको एउटा ‘नोट’ ले सम्पूर्ण शिक्षा क्षेत्रलाई नै आन्दोलित र विवादित बनाएको छ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाद्धारा हस्ताक्षर गरि जारी गरिएको  पत्रको अन्त्यमा भनिएको छ, “गाउँपालिकाको सरुवा निर्णयअनुसार हाजिर नभएका तथा निर्णय कार्यान्वयन नगर्ने प्रधानाध्यापक/शिक्षकलाई सम्मान गरिने छैन।”

गाउँपालिकाको यो कदमले सम्मान कार्यक्रमको मूल उद्देश्य र औचित्यमाथि नै गम्भीर प्रश्न उठाएको छ। शिक्षक र शिक्षा सरोकारवालाहरूका अनुसार विगतको मेहनत र शैक्षिक योगदानको कदर गर्न आयोजना गरिएको कार्यक्रमलाई गाउँपालिकाले आफ्नो सरुवा निर्णय जबरजस्ती कार्यान्वयन गराउने ‘अस्त्र’ को रूपमा प्रयोग गर्न खोजेको भन्दै शिक्षकहरुले आपत्ति जनाएका छन् ।

गाउँपालिकाले २०८२ फागुन २९ गते विभिन्न विद्यालयका १९ जना शिक्षकहरूलाई दरबन्दीसहित सरुवा गर्ने निर्णय गरेको थियो। सरुवा सूचीमा परेका अधिकांश शिक्षकहरू यसै वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरूमा कार्यरत छन्। उनीहरूमध्ये कतिपय आफैँ पनि यस वर्षको उत्कृष्ट शिक्षक सम्मानका बलिया दाबेदार हुन्।

गाउँपालिकाको निर्णयअनुसार सरुवा गरिएका शिक्षकहरूको सूची यसप्रकार छ:

  • मावि संघीय अनुदान (अंग्रेजी/गणित): अकलादेवी माविका शिक्षकलाई नलाङ पात्ले माविमा, महाकाली माविकी सुष्मा सुवेदी (अंग्रेजी) लाई सुन्दरी माविमा, कालीदेवी माविकी कमला श्रेष्ठलाई नलाङ माविमा सरुवा गरिएको छ। यस्तै, महाकाली माविकी सरस्वती अधिकारी (गणित) लाई नलाङ मावि र नलाङ माविकी अप्सरा ढकाल (गणित) लाई महाकाली माविमा साटफेर गरिएको छ।

  • निमावि र प्रावि (राहत/स्थायी): सुन्दरी माविकी शोभा श्रेष्ठ (प्रावि राहत) लाई महाकाली माविमा, अमर आदर्श माविका राजन उपाध्याय (निमावि गणित) लाई अकलादेवी माविमा, र वागबच्छला माविकी कविता रिजाल (निमावि अंग्रेजी राहत) लाई मिन्दुका माविमा सरुवा गरिएको छ।

  • यस्तै मिन्दुका माविका देवी प्रसाद अर्याललाई जाल्पादेवी आविमा, जाल्पादेवीका भिम बहादुर मगरलाई बागबच्छला माविमा, र नलाङ पात्लेका चेत बहादुर नेपालीलाई जलेश्वरी आविमा पठाइएको छ। नलाङ माविका जमकुमारी सिलवाल र सोमनाथ नेपाललाई कुम्पुर आवि तथा सिद्धेश्वर आविका राजेन्द्र सिलवाल र प्रकाश अधिकारीलाई मनकामना आविमा सरुवा गरिएको छ। मनकामना आविका प्राशि राहत चेतनाथ पौडेललाई महाकाली माविमा र महाकाली माविको प्राशि राहत रमा घलेलाई मनकामना माविमा दरवन्दी सहित  स्थानान्तरण गरिएको छ।

नलाङ मावि, महाकाली मावि र सिद्धेश्वर मावि जस्ता पालिकाकै प्रमुख र  मानिएका विद्यालयहरूबाट एकभन्दा बढी शिक्षकहरू सरुवामा परेका छन्।

गाउँपालिकाको यो निर्णयले शिक्षकहरूलाई मात्र नभई विद्यालयका प्रधानाध्यापकहरूलाई समेत प्रत्यक्ष निसानामा पारेको छ। सरुवा भएका शिक्षकलाई आफ्नो विद्यालयमा हाजिर नगराउने वा सरुवा प्रक्रियामा सहयोग नगर्ने प्रधानाध्यापकहरूलाई समेत सम्मान नगरिने नीति गाउँपालिकाले अख्तियार गरेको छ। यसले विद्यालयका प्रशासनिक प्रमुखहरूलाई समेत गम्भीर मानसिक तथा प्रशासनिक दबाबमा पारेको शिक्षा क्षेत्रमा चर्चा छ।

शिक्षकहरूका अनुसार शैक्षिक उपलब्धिको मूल्याङ्कन विगतको योगदानको कदर हो भने सरुवा विशुद्ध प्रशासनिक  विषय हो। यी दुई फरक प्रकृतिका विषयलाई एउटै डालोमा राखेर शिक्षकको आत्मबल गिराउनु न्यायसंगत नसक्ने शिक्षकहरुको प्रतिकृया छ ।

गाउँपालिकाको यो विवादास्पद निर्णय सार्वजनिक भएसँगै स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया देखिए पनि शिक्षा क्षेत्रका बौद्धिक वर्गले यसलाई ‘नकारात्मक औजार’ को संज्ञा दिएका छन्। अहिले सिद्धलेक गाउँपालिकाभित्र एउटै गम्भीर प्रश्न उठिरहेको छ- “उत्कृष्ट नतिजा दिलाउने शिक्षकलाई सम्मान गरिने हो कि सरुवा निर्णय नमानेको भन्दै मञ्चबाटै बहिष्कृत गरिने हो?”

यस विषयमा विवाद चुलिँदै जाँदा शिक्षकवृत्तमा असन्तुष्टिको ज्वालामुखी चर्किएको छ भने गाउँपालिका अध्यक्ष तथा शिक्षा शाखाका अधिकारीहरूको औपचारिक र आधिकारिक धारणा बाहिर आएको छैन् ।

Share.

Comments are closed.

Exit mobile version