- केशव अधिकारी
धादिङ । धादिङको सिद्धलेक र गल्छी गाउँपालिकामा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले स्थानीय ग्रामीण समुदायको जीवनस्तर उकास्न र कृषि प्रणालीलाई व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। परम्परागत खेतीपातीमा निर्भर रहेका किसानहरूलाई प्रविधिमैत्री र व्यावसायिक बनाउँदै पोषण सुरक्षाको क्षेत्रमा यो आयोजनाले ल्याएको सकारात्मक परिवर्तन अहिले गाउँबस्तीमा प्रत्यक्ष महसुस गर्न सकिन्छ। विशेषगरी, आयोजनाले सिकाएका आधुनिक सीपमार्फत उत्पादनमा उल्लेख्य वृद्धि हुनुका साथै बजारको खोजीमा भौंतारिनुपर्ने समस्या हटेको छ भने थोरै जमिन र लगानीबाटै मनग्य आम्दानी गर्दै घरखर्च जुटाउन सहज भएको स्थानीय किसानहरूको अनुभव छ।
यसै क्रममा, आयोजनाको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे जानकारी लिने उद्देश्यले मंगलबार एक विज्ञसहितको टोलीले धादिङका विभिन्न स्थानमा स्थलगत अनुगमन गरेको छ। फानसेप आयोजना क्लस्टर एकाइ गोरखाको नेतृत्वमा भएको सो अनुगमनका क्रममा प्राविधिक टोलीले कृषक समूह तथा पोषण समूहका सदस्यहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कार्यक्रमको उपलब्धिबारे छलफल गरेको थियो। अनुगमनका क्रममा सहभागी किसानहरूले आयोजनाले आफूहरूको दैनिक जीवनमा ल्याएको परिवर्तनबारे उत्साहजनक अनुभव सुनाएका छन्।
गल्छी गाउँपालिका–१ की कृषक गीता मगरले आयोजनाबाट प्राप्त नयाँ कृषि सीपले आफ्नो जीवनमा कायापलट ल्याएको बताउनुभयो। उहाँले कुखुरा, बाख्रा तथा गाईभैँसी पालनलाई आधुनिक तरिकाले अघि बढाएसँगै उत्पादन बढेको र यसले गर्दा घरखर्चको जोहो गर्न निकै सहज भएको अनुभव सुनाउनुभयो। उहाँका अनुसार, पहिले जस्तै बजारको खोजीमा भौंतारिनुपर्ने अवस्था नरहेको र थोरै जमिनमा आधुनिक प्रविधि अपनाउँदा नै राम्रो आम्दानी लिन सकिने रहेछ भन्ने आत्मविश्वास बढेको छ। त्यसैगरी, सिद्धलेक गाउँपालिका–७ का राम गिरीले व्यावसायिक तरकारी खेतीमा आयोजनाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। विशेषगरी तरकारी संकलन केन्द्रको स्थापना र सञ्चालनले बजारको सहज पहुँच पुर्याएको र यसले गर्दा उत्पादनको उचित मूल्य पाउन किसानलाई मद्दत पुगेको उहाँको भनाइ छ।
पोषण सुरक्षाको पाटोमा पनि आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ। सिद्धलेक गाउँपालिका–६ समिटारकी इन्दिरा पुलामी मगरले आयोजनाद्वारा सञ्चालित ‘हरेक बार खाना चार’ अभियान र पोषण सुरक्षासम्बन्धी नियमित सचेतनामूलक गतिविधिले समुदायमा ठूलो प्रभाव पारेको बताउनुभयो। यसले विशेषगरी बालबालिकाको स्वास्थ्य स्थिति र पठनसीपमा सुधार ल्याउन सहयोग पुर्याएको छ।
आयोजनाको कार्यशैली र लक्ष्यबारे प्रकाश पार्दै फानसेप आयोजना क्लस्टर एकाइ गोरखाका प्रमुख होमनाथ लम्सालले ग्रामीण समुदायको आवश्यकता र भौगोलिकतालाई पहिचान गरेरै कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो। पोषण पाठशाला र घरबारी पोषण बगैँचाजस्ता कार्यक्रमले महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन निर्णायक योगदान पुर्याइरहेको उहाँको भनाइ छ। यस्तै, कृषि अधिकृत संयम पण्डितले पोषणसम्बन्धी सचेतनाले समुदायमा स्वास्थ्यप्रतिको दृष्टिकोण फेरिएको उल्लेख गर्नुभयो भने अर्का कृषि अधिकृत बलदेवसिंह महरले बाख्रापालन, कुखुरापालन र दुग्ध उत्पादनको माध्यमबाट ग्रामीण महिलाहरू थोरै लगानीमा पनि आत्मनिर्भर बन्दै गएको बताउनुभयो।
नेपाल सरकार र आइ.डि.ए.बीच २०८० मंसिर १५ गते भएको सम्झौता बमोजिम सञ्चालित यो परियोजना धादिङका सिद्धलेक र गल्छी तथा गोरखाका आरुघाट र सहिदलखन गाउँपालिका गरी कुल ३४ वटा वडाहरूमा सञ्चालनमा छ। जिएएफएसपीको लगानीमा सञ्चालित यस आयोजनाको कुल बजेट २२ मिलियन अमेरिकी डलर रहेको छ भने यसको कार्यान्वयन अवधि २०८० मंसिरदेखि २०८४ असारसम्म तोकिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रत्यक्ष रेखदेखमा सञ्चालित यस आयोजनाबाट प्रत्यक्ष रूपमा ५० हजार कृषक लाभान्वित हुने लक्ष्य राखिएको छ, जसमा ६५ प्रतिशत महिला सहभागिता रहने सुनिश्चित गरिएको छ। यसमध्ये गोरखा क्लस्टर अन्तर्गत मात्र १२ हजार ५०० कृषक समेटिएका छन्।
जलवायु अनुकूलन क्षमतामा वृद्धि, कृषि उत्पादकत्वको विकास र विशेषगरी साना किसानको पोषण अवस्था सुधार्ने मुख्य लक्ष्य बोकेको यो आयोजनाले सुनौला हजार दिनका आमाहरू र ६ देखि २४ महिनासम्मका बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउने, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने र उत्पादन समूह तथा सहकारीहरूको संस्थागत विकास गर्ने उद्देश्य राखेको छ। थोरै लगानी र उपलब्ध थोरै जमिनमा पनि कसरी व्यावसायिक बन्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान किसानलाई हस्तान्तरण हुनु नै यस आयोजनाको सबैभन्दा ठूलो सफलता मानिएको छ, जसले गर्दा ग्रामीण भेगमा उत्पादन वृद्धि, सहज बजार पहुँच र स्वास्थ्य चेतनाको त्रिकोणात्मक सुधार देखिन थालेको छ।



