दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ की २६ वर्षीया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले एक महत्त्वपूर्ण फैसला सुनाएको छ। अदालतले नेपाल सरकारका लेखा अधिकृत रहेका मृतकका श्रीमान गोपाल वलीसहित परिवारका चारजना सदस्यलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत दाङको यसअघिको आदेशलाई बदर गर्दै यो नयाँ आदेश जारी गरेको हो। अदालतको यो निर्णयसँगै अब श्रीमान गोपाल वली, उनका बुवा कर्णबहादुर वली, भाउजू टीका केसी र बहिनी पुतला वलीले जेलभित्रै बसेर मुद्दाको अन्तिम किनारा नलागेसम्म पुर्पक्ष गर्नुपर्ने भएको छ।
यसअघि जिल्ला अदालत दाङले मुख्य आरोपी श्रीमान गोपाल वलीलाई मात्रै थुनामा पठाउने आदेश गरेको थियो भने मतियारको आरोप लागेका बुबा कर्णबहादुर, बुहारी टीका केसी र बहिनी पुतला वलीलाई धरौटीमा छाड्ने निर्णय सुनाएको थियो। जिल्ला अदालतको उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले न्यायका लागि उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए। पीडितको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले उपलब्ध प्रमाण र घटनाको प्रकृतिलाई मध्यनजर गर्दा जिल्ला अदालतको आदेश न्यायसङ्गत नदेखिएको भन्दै त्यसलाई ‘बेरितको’ ठहर गरेको हो। उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम सबै प्रतिवादीलाई थुनामै राखी मुद्दाको अन्तिम टुङ्गो लगाउनुपर्ने कानुनी निष्कर्ष निकालेको छ।
यो बिभत्स घटना गत चैत १२ गते बेलुकाको हो, जहाँ घरको भान्साकोठामा कमलामाथि घातक कुटपिट भइरहेको थियो। कुटपिट भइरहेका बेला घरमै उपस्थित रहेका परिवारका अन्य सदस्यहरूले कमलालाई बचाउन कुनै पनि प्रयास नगरेको आरोप सुरुदेखि नै लाग्दै आएको थियो। स्थानीय बासिन्दाका अनुसार कमला र उनका नाबालक छोराछोरीले ज्यान बचाइपाउन ठुलो स्वरमा हारगुहार गर्दा समेत परिवारका सदस्यहरूले बचाउनुको साटो मुकदर्शक बनेर हस्तक्षेप गरेका थिएनन्। कुटपिटबाट गम्भीर घाइते बनेकी कमलालाई उनका नाबालक छोराले घिसार्दै घरबाहिर ल्याएको देखेपछि मात्र स्थानीयले घटनाको गम्भीरता बुझेर प्रहरीलाई खबर गरेका थिए। मृतक कमला र गोपालका एक छोरा र एक छोरी छन्।
उच्च अदालतले आफ्नो फैसलामा शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शी तथा ससाना बालबालिकाको बयानलाई अकाट्य प्रमाणका रूपमा लिएको छ। कमलाको शव परीक्षण प्रतिवेदनले उनको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको स्पष्ट पारेको छ। यसका साथै प्रहरीले घटनास्थलबाट बरामद गरेका चारवटा चारपाटे दाउराका टुक्रा र मृतकको शरीरका विभिन्न भागमा देखिएका नीलडाम तथा गम्भीर चोटपटकले घटना योजनाबद्ध र क्रूर रहेको पुष्टि गर्दछ। यिनै बलिया वैज्ञानिक र प्रत्यक्षदर्शीका प्रमाणहरूका आधारमा उच्च अदालतले परिवारका सबै आरोपीहरूलाई थुनामै राखेर कानुनी कारबाही अगाडि बढाउन ढोका खोलेको हो।



