धादिङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा स्थित ब्रोम्दिङ डाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा उभिएको छ। महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित यो अलौकिक स्थान राजधानी काठमाडौँबाट छोटो दूरीमै पुग्न सकिने भएकाले पर्यटकीय आकर्षण बढेको हो।

काठमाडौँबाट करिब ८० किलोमिटरको दूरीमा रहेको ब्रोम्दिङ पुग्न नागढुंगा–मुग्लिन सडकखण्डको चालिसे वा विशालटारबाट करिब २२-२३ किलोमिटर उकालो कच्ची सडकको यात्रा गर्नुपर्छ। काठमाडौँबाट कुल ५ देखि ६ घण्टाको मोटर यात्रापछि यो मनोरम स्थानमा पुग्न सकिन्छ।

समुद्री सतहदेखि २०८० मिटरको उचाइमा रहेको ब्रोम्दिङ डाँडाबाट आँखैअगाडि गणेश हिमाल, मनास्लु, अन्नपूर्ण र माछापुच्छ्रे जस्ता सुन्दर हिमश्रृङ्खलाहरू प्रष्ट रूपमा अवलोकन गर्न पाइन्छ। यहाँका स-साना थुम्काहरूले दोलखाको शैलुङको याद दिलाउँछन् भने यहाँको चिसो हावापानीले मकवानपुरको दामन र सिमभन्ज्याङको अनुभव गराउँछ।

धादिङको गजुरी र बेनीघाट रोराङ तथा मकवानपुरको कैलाश गाउँपालिकाको संगमस्थल मानिने ब्रोम्दिङबाट हेटौँडा, रक्सौलका भूभाग समेत देखिन्छन्। यात्राका क्रममा जरुङस्थित तामाङ बस्ती तथा आसपासका चेपाङ बस्तीहरूमा स्थानीय परिकार, संस्कृति र आतिथ्यताको आनन्द लिन सकिन्छ।

गर्मी मौसममा शीतल हावापानी र हिउँदमा हिउँको आनन्द लिन पाइने भएकाले ब्रोम्दिङ र नजिकैको थमभञ्ज्याङ क्षेत्र आन्तरिक पर्यटकका लागि नयाँ र उत्कृष्ट विकल्प बनेको छ।

Share.

Comments are closed.

Exit mobile version