भक्तपुर । गुरुकुल मार्फत वैदीक ज्ञान दिँदै आएको भक्तपुरको छालिङस्थित श्रीपन्चमहालक्ष्मी श्रीपीठ, श्रीधाममा योग, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी विशेष प्रशिक्षण शिविर सम्पन्न भएको छ ।
अनन्त श्री विभुषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको उक्त पीठमा रहेको गुरुकुलमा अध्ययनरत बटुक ब्राह्मण गुरु, , पीठका आचार्य गुरु तथा सेवकहरु लक्षित जीवनोपयोगी अभ्यास शिविर गरिएको आयोजकले जनाएको छ ।
श्रीपीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यको मार्गदर्शनमा आयोजित कार्यक्रममा योग, ध्यान, प्राणायाम तथा ध्वनि चिकित्सा (साउन्ड हिलिङ) आधारित अभ्यासमार्फत शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलनको महत्वबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
वैदिक जीवनपद्धतिमा योग, ध्यान, अनुशासन, गुरुसेवा तथा आध्यात्मिक साधनाको महत्वलाई केवल सैद्धान्तिक रूपमा नभई व्यवहारिक अभ्यासमार्फत बुझाउन यस्ता कार्यक्रम प्रभावकारी हुने स्वामी वासुदेवको भनाई छ ।
‘सनातन वैदिक परम्परामा योगलाई केवल शारीरिक व्यायामका रूपमा बुझ्नु हुँदैन । योगले शरीर, मन, प्राण र चेतनाबीच समन्वय स्थापित गर्दै मानिसलाई आन्तरिक शान्ति र आत्मबोधतर्फ अघि बढाउँछ । तसर्थ नयाँ पुस्तामा यसको व्यवहारीक शिक्षा दिनुपर्ने आवश्यकता महसुश गर्दै यस कार्यक्रम गरेका हौँ’, उनले भने ।धार्मिक तथा आध्यात्मिक स्थलहरूलाई केवल कर्मकाण्डमा मात्र सीमित नराखी वैदीक सनातन परम्परा अनुरुप गुरुकुल शिक्षासँगै व्यवहारीक रुपमा योग, ध्यान, संस्कार, शारीरीक सँगै आत्मिक स्वास्थ्य, चेतना जागरण र मानव कल्याणका केन्द्रका रूपमा विकास गर्नका लागि आफुहरु मुक्तिनाथ बाबाको मार्गनिर्देशनमा निरन्तर लागिरहेको उनले बताए ।
कार्यक्रममा हिमालयन वेलनेस फाउन्डेसन, नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुल तथा न्यू भिजन नेपालको सहकार्य तथा सहभागिता रहेको थियो । योग तथा साउन्ड हिलिङ प्रशिक्षक योगाचार्य अशोक शर्मा भट्ट, सबनम खड्गी, रानु फुयेल र रूपक अर्यालले सहभागीहरूलाई योगासन, प्राणायम, ध्यान तथा साउन्ड हिलिङका विभिन्न अभ्यास गराएका थिए ।
आधुनिक जीवनशैलीका कारण मानिसमा बढ्दै गएको मानसिक तनाव, असन्तुलन र अशान्तिका बीच योग, ध्यान तथा आध्यात्मिक साधनाको आवश्यकता अझ बढ्दै गएको योगाचार्य भट्टले बताए ।
विशेषगरी नयाँ पुस्तालाई योग, ध्यान, संस्कार र आध्यात्मिक जीवनपद्धतिसँग जोड्दै स्वस्थ तथा सन्तुलित जीवनशैलीतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनको धारणा छ ।
विशेषगरी नयाँ पुस्तालाई योग, ध्यान, संस्कार र आध्यात्मिक जीवनपद्धतिसँग जोड्दै स्वस्थ तथा सन्तुलित जीवनशैलीतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनको धारणा छ ।
यस्ता कार्यक्रममार्फत शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, आध्यात्मिक जागरण, आत्मअनुशासन र समग्र जीवनशैली सुधारमा योगदान पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता खालको कार्यक्रम निरन्तरता दिने आयोजकले जनाएको छ ।
