ललितपुर । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन नदिन इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

सरकारले बाढी प्रभावित विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै अघि सारेको छात्रवृत्ति पहललाई समर्थन गर्दै कलेजले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि समेत यो योजना ल्याएको हो। कलेजका अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष चार जनाका दरले कुल २० जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरिनेछ। एमबीए तथा बीएस्सी बिजनेस म्यानेजमेन्ट कार्यक्रममा अध्ययन गर्न चाहने प्रभावित विद्यार्थीले यसबाट लाभ लिन सक्नेछन्। विपद्का कारण आर्थिक संकट झेल्दै उच्च शिक्षा निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई यसले प्रत्यक्ष राहत पुग्ने कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले बताएका छन्।

छात्रवृत्तिसँगै कलेज, कर्मचारी र विद्यार्थीको तर्फबाट संकलित ६ लाख ७७ हजार ८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। आपतकालीन राहत तथा पुनर्स्थापनाका साथै प्रभावित विद्यार्थीको भविष्य सुरक्षित गर्न यो सहयोग महत्वपूर्ण हुने कलेजको विश्वास छ।

Share.

Comments are closed.

Exit mobile version