काठमाडौँ – श्रमका देवता एवम् वास्तुशास्त्री भगवान् विश्वकर्माको पूजाआराधना गरी आज देशभर विश्वकर्मा पर्व तथा वास्तु दिवस भव्यतापूर्वक मनाइँदैछ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखाना, उद्योग तथा कार्यशालाहरूमा विश्वकर्मा भगवान्को विधिपूर्वक पूजा गर्ने परम्परा छ। आजका दिन कालिगढ, शिल्पकार तथा मजदुरहरूले आफूले प्रयोग गर्ने विभिन्न औजार, यन्त्रसामग्री र सवारीसाधनलाई सफासुग्घर गरी विशेष पूजाआराधना गर्छन्। यसो गर्दा औजारहरू लामो समयसम्म टिक्ने, कामको बेला नबिग्रिने र कार्यक्षमता अभिवृद्धि हुने जनविश्वास रहिआएको छ।
पौराणिक मान्यता अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी सुरक्षित राखेका थिए। एकै रातमा समुद्रबीच भव्य द्वारका निर्माण गरेको सोही ऐतिहासिक कार्यलाई स्मरण गर्दै उनलाई सफल वास्तुविद्का रूपमा मान्ने गरिएको छ।
प्राचीन भारतको चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक मानिन्छ भने, ‘विश्वकर्मा प्रकाश’ नामक प्रसिद्ध वास्तुशास्त्र ग्रन्थको रचना पनि उनैले गरेको वास्तुशास्त्री शिव पोखरेल बताउँछन्। यसै विद्वताको सम्मानस्वरूप नेपालका कालिगढहरूले समेत श्रद्धापूर्वक उहाँको पूजा गर्ने गर्छन्।
वास्तुशास्त्रका अध्येता तथा लेखकहरूको सम्झनामा आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गरिएको छ। पछिल्लो समय नेपालमा पनि वास्तु विद्याप्रतिको आकर्षण बढ्दै गएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रको विस्तृत चर्चा गरिएको छ।
पछिल्लो समय लुप्तप्रायः बन्दै गएको स्थापत्य वेदमा आधारित भएर आधुनिक सहर तथा आवास निर्माण गर्नेहरूको सङ्ख्या बढ्दै गएकाले नेपालमा वास्तु विद्याको महत्व अझ चुलिँदै गएको पाइन्छ।
