चितवन – बाढीले सडक बगाएपछि गत १८ दिनदेखि ठप्प रहेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा नयाँ ट्र्याक खोलेर यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको छ। त्रिशूली नदीको कटानले पूर्ण रूपमा भासिएको सडकमा वैकल्पिक ट्र्याक निर्माण भएपछि आज बिहानदेखि सवारीसाधनहरू दुवैतर्फ सहज रूपमा आवतजावत गर्न थालेका छन्।

भदौ १४ गते कृष्णभीरमा आएको बाढीले सडकको तल्लो भाग बगाएपछि काठमाडौँसँग जोडिने मुख्य मार्ग अवरुद्ध बनेको थियो। यातायात अवरुद्ध भएपछि गत भदौ १८ गतेदेखि नै नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माणको काम थालिएको थियो। नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म निर्माणका सबै काम सकेर आजदेखि औपचारिक रूपमा दुईतर्फी यातायात खुला गरिएको हो। नदी कटानका कारण करिब १०० मिटर सडक क्षतिग्रस्त भएको थियो।

कृष्णभीरमा यातायात सुचारु भएलगत्तै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएर हुँदै आएको सवारी आवागमन पनि आजैदेखि पूर्ण रूपमा खुला गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभीर सञ्चालनमा आएपछि तत्कालका लागि तुइन खोलाको पहिरो रोकथामसम्बन्धी रोकिएको काम पनि अघि बढाइनेछ।

लामो समयसम्म मुख्य राजमार्ग बन्द हुँदा ठूला सवारीसाधन राजधानी आवतजावत गर्न पाएका थिएनन्, जसका कारण काठमाडौँ उपत्यकामा एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको समेत अभाव देखापरेको थियो। दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने यो प्रमुख मार्ग खुल्नुले यात्रु र व्यवसायीहरूले ठूलो राहत महसुस गरेका छन्।

Share.

Comments are closed.

Exit mobile version