काठमाडौं – निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी आन्तरिक तयारी तिब्र पारेको छ।
कानुनी व्यवस्थाअनुसार नै निर्वाचनको सम्पूर्ण तयारी अघि बढाइएको निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले जानकारी दिएका छन्। उनका अनुसार, स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ। सोही कानुनी बाटोलाई टेकेर आयोगले आफ्नोतर्फबाट आवश्यक पर्ने पूर्वतयारीका कामहरू थालिसकेको र अब सरकारसँग निर्वाचनसम्बन्धी आवश्यक समन्वय गर्ने चरणमा रहेको उनको भनाइ छ।
आयोगले हाल निर्वाचनको मुख्य आधार मानिने मतदाता नामावली अद्यावधिक गर्ने कामलाई निरन्तरता दिइरहेको जनाएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ अन्तर्गत स्पष्ट रूपमा गाउँ सभा वा नगर सभाका सदस्यहरूको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ। यही संवैधानिक तथा कानुनी पाबन्दीका कारण आयोग तोकिएको समयमै चुनाव गराउने पक्षमा जुटेको हो।
