काठमाडौं — भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा करिब ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले पेस गरेको प्रारम्भिक प्रतिवेदनमा उक्त क्षति सार्वजनिक गरिएको हो। बाढी र पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो असर परेको छ।

प्रतिवेदन अनुसार क्षेत्रगत रूपमा सबैभन्दा धेरै क्षति होटल व्यवसायमा भएको छ। होटल क्षेत्रमा मात्र १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार र मानवबल एवं पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँको क्षति भएको छ। यसैगरी, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनमा १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टमा १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ क्षति भएको औँल्याइएको छ। साथै, आन्तरिक पर्यटन राजस्वमा १९ अर्ब (शुद्ध रूपमा १९ करोड ८७ लाख), राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँको क्षति भएको उल्लेख छ।

विपद्का क्रममा १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएका थिए। तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको र १३ जना सम्पर्कमा आएका छन्। हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली नागरिक रहेका छन्। उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला रहेका छन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार घटना भएको एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल, ट्रेकिङ कम्पनी र टुर अपरेटरहरूसँगको समन्वयमा खोजी तथा उद्धार कार्य थालिएको थियो।

क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा आउन सक्ने विपद्का लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन पुनरुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई दिइएको छ। प्रतिवेदनले पुनरुत्थानको कामलाई भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित नराखी जलवायुजन्य जोखिमलाई मध्यनजर गर्दै सुरक्षित तथा दिगो पर्यटन प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएको छ।

Share.

Comments are closed.

Exit mobile version