काठमाडौं, असार १७ । विगत केही दिनदेखि न्यून चापीय रेखाका कारण मुलुकमा मनसुन सक्रिय हुन थालेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सवैलाई सूचित गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिशेष बुलेटिन जारी गरी कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित चार वटा प्रदेशमा ३४ जिल्लामा सोमवारदेखि बिहीवारसम्म भारी बर्षाको संभावना रहेको भन्दै उच्च जोखिम औंल्याएर सतर्क रहन सूचित गरेको हो ।

महाशाखाले मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै सो न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना भएकोले असार २० गते अर्थात बिहीबारसम्म बिशेष सतर्कता अपनाउन सूचित गरेको हो ।

महाशाखाका अनुसार सोमबारदेखि बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आजदेखि बिहीबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

Share.
Leave A Reply
Exit mobile version